तिर्थयात्रामा गएका २८ पाकिस्तानीको इराकको बस दुर्घटनामा मृत्यु

432
Shares

इराक– इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए ।

“मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट चेकप्वाइन्ट अगाडि पल्टिएपछि आगलागी भएको इरानको एक राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

“बुधबार विहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” इरानी टेलीभिजनले समाचारमा जनाएको छ ।

याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताएका छन्।

मालेक–जादेहले भने, “मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य सात जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ ।”

गत वर्ष इराकको कर्बला शहरमा हुसेन र उनका भाइ अब्बासलाई गाडिएको स्थानमा करिब दुई करोड २० लाख तीर्थयात्रीले उक्त स्मृतिसभा सहभागीता जनाएका हुन् । रासस