दुर्गा प्रसाईंविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता नलिए शुक्रबार चक्काजाम गर्ने चेतावनी
काठमाडौं– साइबर अपराधको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नागरिक बचाउ महाअभियानले भोली देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ ।
प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो । त्यसको विरोधमा प्रसाईँ नेतृत्वको महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने चेतावनी दिएको छ । यस्तै असोज ४ मा चक्काजाम गर्ने चेतावनी दिएको हो ।
महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हननमा सरकार लागेको आरोप लगाएको छ ।
महाअभियानले प्रसाईँका साथै सञ्चारकर्मी प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरी राज्यले दमन कार्यनीति अपनाएको बताएको छ । ‘सो नीति सरकारले तत्काल फिर्ता नलिए आज मिति २०८१ साल असोज ३ गते देशै भर विरोध सभा राँके जुलुस, विरोध प्रदर्शन र भोलि मिति २०८१ असोज ४ गते बाट देशैभर चक्काजाम, विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला,अञ्चल तथा केन्द्रीय पदाधिकारीज्युहरुलाई यसै विज्ञप्तिमार्फत हार्दिक आह्वान गर्दछौँ’, महाअभियानको विज्ञप्तिमा भनिएको छ ।