कोशीका पूर्व मुख्यमन्त्री राई दम्पत्तीले दिए प्रकाशलाई आफ्नै जग्गा

648
Shares

भोजपुर– हराएको ३५ वर्षपछि ‘हेर्ने कथा’ टिमको सहयोगमा परिवारको सम्पर्कमा आएका प्रकाश तामाङ आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेशामा संम्लग्न हुने भएका छन् ।

२५ दिन अघि नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईले तामाङसँगको भेटघाट गर्ने क्रममा आफु भोजपुरमा रहेका बुवाआमा सँगै बस्ने बताएका थिए । भोजपुरको षडानन्द नगरपालिका वार्ड नं. १० थाप्लेगाउँमा तामाङका परिवार रहेको छ । उक्त स्थानमा उनको बुवाआमा अर्काकै जमीन जोतभाग गर्दै आएका छन् ।

२५ दिन अघि पुर्व मुख्यमन्त्री राई र उनकी पत्नी जाम्मु इन शेर्पाले भेट गर्ने क्रममा आफुलाई जमीनको आबश्यकता रहेको बताएका थिए । सो बेला पूर्व मुख्यमन्त्री दम्पत्तिले तामाङलाई एक लाख रुपैया सहयोग गर्दै उनको आवश्यकता अनुरुपको सहयोग गर्ने आश्वासन दिएका थिए ।

शुक्रबार पूर्व मुख्यमन्त्री राईले गरेको प्रतिवद्धता अनुसार तामाङले ५ रोपनी ३ आना जमीन पाएका छन् । राई पत्नी शेर्पाको पहलमा तामाङलाई मालपोत कार्यालय भोजपुरमा सो जमीन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाको नाम रहेको सो जमीन पास गरेपछि तामाङको घरमा भेला भएर लालपूर्जा लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।

पूर्व मुख्यमन्त्री राई र उनको धर्मपत्नी शेर्पाले तामाङलाई लालपूर्जा सहित एक थान हाते ट्याक्टर र एक हल गोरु हस्तान्रण गरिएको थियो ।
सो अवसरमा बोल्दै राईले आफूले सकेको सहयोग गरेको बताउँदै सारा यूवा विदेश पलायन भइरहेको बेला आफ्नै भुमिमा केही गर्ने सोच राख्नु सकारात्मक भएको बताए । उनले यस्तो विकट ठाँउमा कृषि पेशा अंगालेर बृद्ध वुवाआमालाई पाल्ने कुराले आफुलाई प्रभावित पारेको उल्लेख गरे ।

सामाग्री हस्तान्रण गर्ने क्रममा राई पत्नी शेर्पाले आफू सामाजिक कार्यमा सक्रिय रहेका जनाउँदै उपलब्ध गरेका सामाग्रीले सदुपयोग भए प्रकाश र उनको परिवारमा आर्थिक अबस्थामा परिवर्तन हुनसक्ने बताइन् ।

जमीन र अन्य सामाग्री पाएपछि हर्षित देखिएका प्रकाश तामाङले आफुले खेतीपाती गर्ने र बृद्ध बुवाआमालाई पाल्ने बताएका थिए । सो अवसरमा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, समाजसेवी भूपाल राई लगायतले यस खालको सामाजिक कार्यले समाजमा सकारात्मक परिवर्तन हुने जनाएका थिए ।