रविलाई अदालतमा उपस्थित गराउन भएपछि कालोपट्टी बाँधेर धर्ना दिँदै रास्वपा कार्यकर्ता

2.4k
Shares

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ता कालोपट्टी बाँधेर जिल्ला अदालत कास्की नजिकै धर्ना दिन पुगेका छन् । सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत कास्की लैजाने भएपछि उनीहरु धर्ना दिन पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि अदालत लैजाने तयारी भएको छ । सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठ, चन्दा कार्कीसहितका नेता र कार्यकर्ता धर्ना दिन पुगेका हुन् ।

उता लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ । अदालतका स्रेस्तेदार राजन खनालका अनुसार आजका लागि जिल्ला अदालत कास्कीले म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको छ । दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् ।

शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही राति नै पोखरा ल्याइएको हो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।