काठमाडौं– यतिबेला नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । । लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्मले हलहरुमा अत्यधिक शो पाइरहेको छ भने शोहरु हाउसफूलसमेत भएका छन् ।
फिल्म हेर्न गएका दर्शकहरुको आँखा रसाएको र रोइरहेका भिडियोहरु पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फिल्ममा छोराको सफलताका लागि बाबुले देखेको सपनाको कथा प्रस्तुत गरिएको छ । जुन दर्शकले निकै मनसमेत पराइरहेका छन् ।
यस फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । पौडेलकै कथासमेत रहेको यो फिल्मलाई आफ्नो बुबा निधन भएपछि महसुस भएको विषयको आधारमा फिल्म बनाएको बताउँदै आएका छन् ।
यसै क्रममा यस फिल्मको मूल कथावस्तु भने चोरी भएको आरोप लागेको छ । उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको बताएका छन् ।
बस्यालले फिल्म हेरिसकेपछि शनिवार साँझ फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको भन्दै विभिन्न आधारसमेत दिएका छन् । उनले फिल्मका दुई मुख्य पात्र पूर्णबहादुर र कमलजस्तै ‘सङ्ग्रामपुर’ उपन्यासमा रूपमान र समीर नाम गरेका बाबुछोरा रहेको उल्लेख गरेका छन् । ‘सङ्ग्रामपुर’ मा स्त्री बिछोडको प्रसङ्ग फिल्ममा पनि भएको, उपन्यासको समीरजस्तै फिल्मको कमल पात्रपनि टप विद्यार्थी हुनु, समीरले जस्तै कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु, रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता फिल्मको कथाका मूल प्रसङ्गहरू उपन्याससँग मिलेको लेखक बस्यालको दाबी रहेको छ ।
उपन्यासमा रुपमान भरिया भएको र पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व रहेपनि उपन्यासका अन्य प्रसङ्ग र प्रभाव समेत फिल्ममा देख्न सकिने उनले बताएका छन् ।
यता हलमा राम्रो प्रदर्शन गरिरहेको ‘पूर्णबहादुरको सारङ्गी’ फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन् । फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।
प्रतिक्रिया