बिर्तामोड– झापामा क्लिनिकको शौचालयमा शिशुलाई जन्म दिएर महिला फरार भएकी छिन् । झापाको हल्दिबारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर महिला फरार भएकी हुन् ।
हालभने ती महिलाको पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरेर पक्राउ गरेको हो ।
बच्चालाई शौचालयमा छाडेर फरार हुने ती महिला बिर्तामोड नगरपालिका १० की भएको बताइएको छ ।
शनिवार दिउँसो २ः३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ ।
ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ । ती महिलाको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइएको छ ।
मृत शिशुको पोस्टमार्टम भई नसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ ।
महिला तथा बालबाकासम्बन्धी विषय भएकाले महिलाको पहिचान भने हालका लागि गोप्य राखिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया