श्रीमती र छोराछोरी दुई हप्तादेखि हराएको भन्दै प्रहरीको पुगे श्रीमान, प्रहरीले खोज्दा घरमै भेटियो लाश


काठमाडौं– बिहीबार ४९ वर्षीय पुरुष श्रीमति र छोराछोरी दुई हप्तादेखि हराइरहेको भन्दै प्रहरीलाई निवेदन दिन पुगे । काठमाडौंको गोकर्णेश्वर–३ कुमारी गाम्छामा घर रहेका कान्छा नगरकोटी आफ्ना श्रीमती र छोराछोरी हराएको भन्दै प्रहरीकोमा पुगेका थिए ।

श्रीमती, छोरा र छोरी कात्तिक १६ देखि सम्पर्कविहीन भएको उनको भनाइ थियो । आफूसँग झगडा भएपछि श्रीमती छोराछोरी लिएर हिँड्छु भन्दै निस्किएको उनले बताएका थिए ।

उनले घरको एउटा कोठाबाट दुर्गन्ध आइरहेको समेत प्रहरीलाई बताएका थिए । त्यसपछि प्रहरी नगरकोटीको घरमा पुगेको थियो । प्रहरीले नराम्रो गन्ध आएको कोठाको ढोका खोलेर हेर्दा त्यहाँ तीन जनाको शव फेला परेको छ । फेला परेको शव उनै नगरकोटीले हराएको भनिएका श्रीमती र छोरा छोरीको रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार कान्छाका ३३ वर्षीया श्रीमती सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु मोक्तान र २ महिने बालक कोठाभित्र मृत भेटिएका हुन् ।

मृतक सीता र कान्छा दुबैले एक अर्कासँग दोस्रो विवाह गरेका थिए । उनीहरुबीच पहिले पनि पटकपटक झगडा हुने गरेको र झगडामा प्रहरीसमेत आएका घटनाहरु रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । झगडापछि दुवै जना घर छोडेर हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

कान्छा नगरकोटीपनि घरमा कम आउने गरेको प्रहरीका एक अधिकृतले बताए । यता तीन जनाको शव रहेको कोठा भित्रैबाट बन्द रहेको पाइएको छ । घटनाको प्रकृति हेर्दा हत्याको शंका गर्नुपर्ने अवस्था नदेखिएको प्रहरीको दाबी छ ।

तर श्रीमती र छोराछोरी दुई सातादेखि कोठाभित्र मृत रहको कुरा श्रीमानले थाहा नपाउनु आश्चार्यजनक देखिएको छ । यस विषयमा कान्छाले प्रहरीसँग भनेका छन्, ‘कतै गइन् होला भन्न सोचेको थिएँ । कोठा पनि बाहिरबाट बन्द भए जस्तो थियो । उनीहरु कोठामै छन् भन्ने मलाई शंका नै भएन ।’

उक्त घटना आत्महत्या जस्तो पनि नदेखिएको प्रहरीले जनाएको छ । अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।