काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मिडियाका अगाडि चर्काचर्की परेको छ । खनिज सम्झौताबारे निर्णायक छलफलका लागि ट्रम्पकै निम्तोमा अमेरिका पुगेका जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा भनाभन भएको हो। ट्रम्पले जेलेन्स्कीमाथि शान्ति नचाहेको आरोप लगाएको जेलेन्स्कीले त्यसको प्रतिवाद गरे । ट्रम्पले अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिए।
छलफलमा ट्रम्पका उपराष्ट्रपति जेडी भान्स पनि थिए। दुवैसँग जेलेन्स्कीको चर्काचर्की परेको भिडियो अहिले विश्वभर भाइरला भैरहेको छ । रूस–युक्रेन युद्ध रोक्ने विषयले चर्काचर्की परेको हो । उपराष्ट्रपति भान्सले युक्रेन युद्धको अन्त्य गर्न राष्ट्रपति ट्रम्पले कुटनीतिक माध्यमबाट पहल गरिरहेको बताए। उनले अहिलेसम्म युद्ध अन्त्य गर्नका लागि कसैले पहल नगरेको र त्यो पहिलो व्यक्ति ट्रम्प रहेको बताए।
त्यसपछि जेलेन्स्कीले भान्सलाई रोकेर आफ्नो कुरा राख्न अनुमति मागे। जेडीले आफ्नो कुरा रोके र जेलेन्स्कीलाई बोल्न दिए।जेलेन्स्कीले २०२२ भन्दा अघि पनि रूसले युक्रेनी भूभागहरूमा आक्रमण गरिरहेको सुनाए। पूर्वी युक्रेन, क्राइमिया लगायता भूभागहरू पुटिनले आक्रमण गरेर युक्रेनीहरूलाई मारेर आफ्नो कब्जामा लिएको बताए।
‘त्यतिबेला कसैले पनि युद्ध रोक्न पहल नगरेको उनको भनाइ थियो। बाइडेनले मात्रै होइन, बाराक ओबामा र ट्रम्प स्वयंले पनि,’ उनले भने। ट्रम्पले जबाफ फर्काए– त्यतिबेला म थिइनँ।त्यसपछि बोल्दै जेलेन्स्कीले आफू राष्ट्रपति बनेपछि रूससँग युद्धविराम गरेको तर पुटिनले युद्धविराम उल्लंघन गर्दै युक्रेनमा आक्रमण गरेको बताए।
‘युद्धविराम उल्लंघन गर्ने र युक्रेनी भूभाग धमाधम कब्जा गरियो। अनि तपाईं कस्तो खालको कुटनीतिको कुरा गर्दै हुनुहुन्छ जेडी,’ जेलेन्स्कीले कडा प्रश्न सोधे।

‘म तपाईंको देशको विनाशलाई अन्त्य गर्ने किसिमको कूटनीतिको बारेमा कुरा गर्दैछु,’ उपराष्ट्रपति भान्सले उस्तै कडा जवाफ फर्काए। अमेरिकी मिडियाकै अगाडि जेलेन्स्कीले आफूहरूको अनादर गरेको पनि भान्सले आरोप लगाए ।
उनले रूससँग युद्ध लड्न युक्रेनसँग जनशक्तिको समस्या रहेको बताउँदै युद्ध अन्त्यको पहल गरिरहेका राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुपर्नेमा जोड दिए । तर समस्या बताउँदै उनले जेडीलाई सोधे ‘युक्रेनको समस्या बताउनुभयो, युक्रेन कहिल्यै जानुभएको छ ?’
‘दुईपटक गएको छु। तर त्यहाँको अवस्था नियालिरहेको छु,’ भान्सले जबाफ फर्काए।जेलेन्स्कीले समस्याविहीन देश नहुने बताए । युद्धका बेला सबै समस्यामा हुने अहिले नभए पनि भोलि अमेरिकाले पनि समस्या भोग्न सक्ने बताए ।‘समस्या सबैको हुन्छ, तपाईंहरूको पनि। तर तपाईंहरूसँग राम्रो देश छ। तपाईंले चिन्ता लिनुपर्दैन,’ उनले भने।
तर भोलि अमेरिकाले पनि समस्या सामना गर्नु पर्ने अवस्था आउन सक्ने बताउँदै भगवानले त्यस्तो स्थिति आउन नदिउन भनेर
जेलेन्स्कीले बोले । त्यसपछि ट्रम्प आक्रामक भएर बोलेनन मात्रै उनले जेलेन्स्कीलाई मिडियाकै अगाडि हेपे पनि । ‘तपाईंलाई थाहा छैन,’ उनले भने। ‘हामीलाई के विषयमा चिन्ता लिने भन्ने नभन्नुस्। हामी समस्याको समाधान गर्ने प्रयत्न गर्दैछौं। हामी के विषयमा चिन्तित छौं भन्ने विषयमा बोल्नका लागि तपाईं त्यो पोजिसनमा हुनुहुन्न,’ ट्रम्पले भने।
ट्रम्पले जेलेन्स्कीसँग त्यो हैसियत नभएको र उनले केबल युद्धलाई कार्ड बनाएको बताए। ‘युद्धलाई कार्ड बनाउनुभयो। करोडौं मानिसहरूको जीवनसँग खेल्नुभएको छ तेस्रो विश्व युद्धलाई निम्त्याउन खोज्नुभयो,’ ट्रम्पले भने। उनले अमेरिकामै आएर आफूहरूको अनादर गरेको पनि बताए। तर जेलेन्स्कीले ट्रम्पको उक्त अभिव्यक्ति अस्वीकार गरे। जेलेन्स्कीले , आफूहर ग्यारेन्टीसहितको युद्धविरामका पक्षमा रहेको बताए ।






















प्रतिक्रिया