कक्षा १२ को परीक्षामा संलग्न नहुन शिक्षक महासंघको निर्देशन


काठमाडौं – नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन आग्रह गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरी सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई क्रक्षा १२ को परीक्षामा सहभागी नहुन निर्देशन दिएको हो ।

महासंघले शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि आन्दोलनमा आउन शिक्षकहरुलाई अनिवार्य पनि गरेको छ । उसले आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन विद्यार्थी, अभिभावक, वि।द्यालय व्यवस्थापन समिति, गाउँ–नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षसमक्ष अनुरोध पनि गरेको छ ।

शिक्षकहरुले नै सहभागिता नजनाउने भएपछि ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा अन्योल बनेको छ । त्यस्तै, एसईई कापी परीक्षण र नयाँ शैक्षिक सत्रको पठनपाठन पनि अन्योल अवस्थामा छ । सरकारी र संस्थागत विद्यालयहरूले वैशाख ५ गतेसम्म नयाँ विद्यार्थी भर्ना गर्ने गरेका छन् । सबै शिक्षक आन्दोलनमा हुँदा के गर्ने भन्ने अलमलमा विद्यालयहरु परेका छन् ।