काठमाडौं – चार महिनादेखि कर्मचारी, शिक्षक, जनप्रतिनिधिलाई तलब खुवाउने वातावरण बनाएर विदेश भ्रमणमा रहेकी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अहिले लक्जमवर्गमा छिन् ।
युरोपियन युनियनको निमन्त्रणामा उनी बेल्जियमको आधिकारिक भ्रमणमा छिन्। भ्रमणका क्रममा उनले युरोपेली संघको शासन प्रणाली अध्ययन गर्नुका साथै दुई पक्षीय प्रशासनिक अनुभव आदानप्रदान गर्ने अवसर पाएको बताएकी छिन्।
उपमेयर डंगोलले यो कूटनीतिक भेटघाट र ज्ञान सन्देशले महानगरको संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास रहेको बताएकी छिन्। हाल लक्जमवर्गमा रहेकी डंगोलले न्याय अदालतको भ्रमण गर्न र सुनुवाइ प्रक्रिया प्रत्यक्ष रूपमा हेर्न पाउँदा सम्मानित भएको उल्लेख गरेकी छिन्।
यस्तै, वैकल्पिक विवाद समाधानको अभ्यास अवलोकन गर्न र मुद्दा दायर गर्नेदेखि फैसलासम्मको यात्रा पछ्याउन पाउनु अन्तरदृष्टिपूर्ण रहेको उनको भनाइ छ । इयुको न्यायिक प्रक्रियाहरूको गहिरो बुझाइ प्राप्त गरेको र अर्थपूर्ण सहयोग आदानप्रदान सुरु भएको उनले बताइन् । यस्तै, विचारशील छलफल र प्रस्तुतीकरणमा संलग्न हुने अवसरको लागि आफू कृतज्ञ रहेको डंगोलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।
लक्जमवर्गमा जनरल अदालतका रजिस्ट्रार वीडी बुची र अदालतका महाधिवक्ता ए बियोन्डीसँग भेटभाट भएको, प्रोटोकल र भ्रमण निर्देशनालयका सहायक आर कास्सारको प्रस्तुतीकरण न्यायमा विश्वव्यापी दृष्टिकोणसँग स्थानीय नवप्रवर्तनलाई जोड्ने साँच्चै समृद्ध अनुभव रहेको उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया