गायकबाट नायक बनेका प्रकाश सपुतको निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’ले बक्स अफिसमा अपेक्षित कमाई गरेन । फिल्मबाट प्रकाशसहित सिंगो फिल्म क्षेत्रले नै आशा राखेपनि बक्स अफिसमा यो फिल्म चिप्लियो ।
रिलिजको ११ औं दिनसम्म आइपुग्दा फिल्मको व्यापार १ करोड ७७ लाख ग्रस छ । फिल्मले २ करोड भन्दा माथिको लाइफ टाइम कलेक्शन गर्ने संभावना देखिएको छ ।
फिल्मले अपेक्षित व्यापार नगरेपछि यसका निर्देशक तथा कलाकार प्रकाश सपुतले आउँदो फिल्ममा कमिकमजोरी हटाएर गुण र ऋण तिर्ने उल्लेख गरेका छन् । सामाजिक संजालमा उनले लेखेका छन्–‘निर्देशकको रुपमा वसन्तको कमिकमजोरीहरु सच्याउँदै एउटा अर्को फिल्म बनाएर फिल्म क्षेत्रको गुण र ऋण तिर्नुछ । २०८१ त मलाई पटक पटक जीवनमा जहाँबाट उठेको हो फेरि त्यही खाँडलमा जाकिएको महशुश भयो । तर पनि म उभिएको छु, किनकी, जीवन बाँकी छ, यात्रा बाँकी छ, जिम्मेवारी बाँकी छ, त्यसैले अहिले नै सबै माया र गाली गरेर नसक्नुहोस् है । अझै राम्रो काम गर्न बाँकी छ । अझै गल्ती गर्न बाँकी नै छ । वर्ष मात्र सकिएको हो, म सकिएको छैन । थोरे भएपनि म बाँकी नै छु है ।’
प्रकाशले यो वर्ष आफू सामाजिक संजालमा निकै नै आलोचित भएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘तपाइलाई मेरो गतिविधिहरु देखेर झनक्क रिस उठ्दा गाली गलौज गरेपनि तपाइको मनमा मेरो सिर्जना र म प्रतिको धारणा नकारात्मक छैन भन्नेमा विश्वस्त छु । किनकी, मेरो नियत नराम्रो छैन र तपाइको मन नराम्रो छैन । तपाइहरुले विर्सनुभयो कि, मैले अघिल्लो वर्षदेखि जातीय विभेद विरुद्धको वर्ष भनेर काम गरेको थिएँ । त्यसैले यो विचमा लगातार विभेद विरुद्धका केही सिर्जनाहरु गरेँ । तर, अबब सिर्जनाको हिसाबले आफ्ना पुरानै सिर्जनाहरु जस्तै विभिन्न विषय र शैलीहरुमा काम गर्ने लक्ष्य छ ।’
सपुतले सुटिङ भएका र बाँकी फिलमको काम र प्रदर्शन सकाएर गीतसंगीतको काम गर्ने समेत बताएका छन् ।
सपुतले अब आफूलाई गीतसंगीतमा बढी केन्द्रित गर्ने छनक दिएका छन् ।
प्रतिक्रिया