सरस्वती माविमा असम्बन्धित व्यक्तिको शालिक हटाउने विषयमा व्यवस्थापन समिति र विद्यालयबीच फरक मत


काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा असम्बन्धित व्यक्तिको शालिख राख्ने कि हटाउने भन्ने विषयमा व्यवस्थापन समिति र विद्यालयबीच फरक मत देखिएको छ । व्यवसायी नवराज आचार्यले पैसाकै बलमा आफ्नो हजुरबुवा वासुदेव उपाध्यायको शालिक विद्यालय परिसरमा राखिसकेका छन् ।

विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र माओवादीका केही स्थानीय नेताको संरक्षणमा आचार्यले हजुरबुबाको शालिक राखेका छन् । विद्यालय व्यवस्थापन समितिसँग कुनै सम्झौता र सहमति नगरीकनै सरकारी जग्गामा शालिक राखेकोमा हजरियावासी एवं विद्यालयका पूर्वविद्यार्थी आक्रोशित भएका छन् ।

स्वयं सरस्वती माविले आचार्यलाई तत्काल शालिक हटाउन पत्र पठाइसकेको छ । तर आचार्यले त्यसलाई बेवास्ता गर्दै उच्च अदालत जनकपुरमा मुद्दा हालेका छन् । उनले स्कुलले शालिक हटाउन पठाएको पत्रमा १३ वर्षअघि विद्यालय व्यवस्थापन समितिसँग मौखिक सहमति भएको र सोही सहमतिलाई आधार मानेर शालिक राख्न दिन अनुरोध गरेका छन् । आचार्यले चैत १५ गते स्कुललाई पत्रको जवाफ पठाएका थिए ।

उच्च अदालतले शालिकका विषयमा छलफल गर्न दुवै पक्षलाई वैशाख ५ गते बोलाएको छ । सरस्वती माविले उच्च अदालतले पठाएको पत्र हात परिसकेको जनाएको छ । विद्यालयले पत्रका विषयमा छलफल गर्न बुधबार बैठक बोलाएको छ । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर खड्का भने अदालतले अहिलेसम्म आफूलाई पत्र नपठाएको भन्दै काठमाडौं हिँडेका छन् ।

व्यक्तिगत र पारिवारिक काम भन्दै उनले अदालतले गरेको आदेशका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । खड्का माओवादीबाट २०७४ को निर्वाचनमा बरहथवा नगरपालिका–२ मा वडाध्यक्षमा निर्वाचित भएका थिए । विद्यालय व्यवस्थापन समितिका अधिकांश सदस्य तत्काल बैठक राखेर शालिकका विषय टुंगो लगाउने पक्षमा रहे पनि खड्काले भने विभिन्न बहाना देखाएर टार्दै आरोप लागेको छ । तर यस विषयमा छलफलका लागि बुधबार व्यवस्थापन समितिको बैठक बोलाउन आफूले जिम्मेवारी दिएको उनले बताए । ‘मैले वडाध्यक्षलाई बैठक राख्न अधिकार दिएको छु । अब भोलि (बुधबार) बैठक बस्छ,’ उनले भने ।