परराष्ट्र मन्त्रालयले भन्यो– पाकिस्तानमा रहेका विद्यार्थीसहित सबै नेपालीसँग सम्पर्कमा छौँ


काठमाडौं । भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेका बेला परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ । नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले शुक्रबार एड्भाइजरी जारी गरेको हो ।

हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सबै विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासको तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ ।

पाकिस्तानमा ८० जना विद्यार्थी अलपत्र परेको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीको सुरक्षा र उद्धारमा सरकारले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।