काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिले वर्तमान सत्ता गठबन्धन नै टुट्ने विश्लेषण हुन थालेको छ । एक महिनादेखि सरकारले गभर्नर नियुक्त गर्न नसकेपछि सत्ता गठबन्धन धर्मरमा परेको अनुमान सुरु भएको हो ।
कतिसम्म भने सदनमै पनि गभर्नर नियुक्तिका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्नेसम्मका सांसदहरूको अभिव्यक्तिले कांग्रेस–एमाले गठबन्धन धेरै लामो समय नजाने अनुमान गरिएको हो । केही समयअघिसम्म प्रधानमन्त्री केपी ओलीले अबको १३ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताउने गर्थे । एमालेका नेताहरु पनि ओलीकै बोली रिपिट गर्थे । तर अहिले ओली र एमालेका कोही पनि नेता कांग्रेससँगको सहकार्य ०८४ सम्मै जानेमा विश्वस्त छैनन् ।
अलि अगाडिसम्म कांग्रेसमा पनि सरकारबाट बाहिरिनुपर्ने आवाज उठेको थियो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त प्रधानमन्त्री ओलीलाई असहज भएको हो भने कांग्रेस सरकारबाट अलग हुनसक्ने सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए । गभर्नर नियुक्तिलाई प्रतिष्ठा बनाएको कांग्रेस सभापति देउवा पनि अहिले आफैं निरास बन्न थालेका छन् ।
शुक्रबार देउवाले पार्टीका पदाधिकारीको बैठकमा सत्ता गठबन्धनमा आफ्नो पार्टीबाट कुनै समस्या नरहेको बताए पनि एमालेबाट धोका हुनसक्ने संकेत गरेका छन् । गभर्नरको विषयमा नेताहरूले प्रश्नैप्रश्न सोधेपछि देउवाले प्रधानमन्त्री ओलीले विगतमा माओवादी अध्यक्ष प्रचण्डले जस्तै गठबन्धन छोडेर गएमा केही नलाग्ने बताए।
बैठकमा नेताहरूले गभर्नर नियुक्तमा किन ढिलाइ भएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीको लापरबाहीका कारण ढिलाइ भएको जवाफ दिएको सभापति देउवाका भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने । ‘गभर्नर नियुक्तिमा प्रधानमन्त्रीले जतिसक्दो चाँडो गर्न पहल गर्नुपर्नेथ्यो, तर उहाँले त्यसो गर्नु भएको छैन । नियुक्ति विलम्ब हुँदा बाहिर राम्रो सन्देश गएको छैन । यसका लागि हामीले अब सोच्नुपर्ने हुनसक्छ । सरकारबारे पनि गम्भीर छलफल भएको छ । अब छिट्टै निकास आउन सक्छ,’ देउवाको भनाइ थियो । देउवाले सरकार फेरबदल हुन सक्ने संकेत गरेको कांग्रेस नेताहरुको भनाइ छ ।
एक वर्षअघि राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका बेला प्रचण्डले आफ्ना भाइ नारायण दाहाललाई अध्यक्ष बनाउन कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेका थिए । त्यसपछि कांग्रेस सरकारबाट बाहिरिएको थियो । अहिले गभर्नरको नियुक्तिमा पनि एमालेले माओवादीसँग मिलेर आफूलाई धोका दिन सक्ने बुझाइ कांग्रेसीहरुको छ ।
एमालेले भने गभर्नर नियुक्तिमा कुनै विवाद नरहेको भन्दै तीनवटा विकल्प कांग्रेसलाई सुझाएको छ । जसमा निलम ढुंगानालाई मनाएर गुणाकर भट्टको राजीनामा स्वीकृत गराउने, भट्टलाई गभर्नर नियुक्ति गर्ने र कानुनी अड्चन आएमा पछि मिलाउने तथा भट्टको विकल्पमा अर्को व्यक्तिलाई अघि सार्ने । यस विषयमा कांग्रेस सकारात्मक भएको बुझिएको छ ।
प्रतिक्रिया