रवीन्द्र मिश्र र धवलशमशेरसँग दुर्गा प्रसाई जति पनि दह्रो मुटु रैनछ


काठमाडौं । गत चैत १५ को तीनकुने घटनाका ६१ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो । पहिलो मुद्दामा दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणासहित ५० जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दा लगाइएको छ । श्रवणकुमार लामा, समीर मगर, रविरञ्जनकुमार सिंहसहितका ११ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा मात्रै लगाइएको छ । मुद्दा दर्ता गर्ने दिन रवीन्द्र मिश्र र धजलशमशेर राणा दुवै प्रहरीको सम्पर्क बाहिर छन् ।

अर्थात् भूमिगत बनेका छन् । राणा उपचार फलोअपका लागि भन्दै छुटेका थिए । मिश्र बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेर थुनामुक्त भएका थिए । केही दिनअघिसम्म सार्वजनिक कार्यक्रममा देखिएका राणा फरार छन् । मिश्र पनि मोबाइल अफ गरेर बसेका छन् । मुद्दा दर्ता भएलगत्तै प्रतिवादीसँग अदालतमा बयान सुरु भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा दुर्गा प्रसाईलगायतसँग बयान लिन थालिएको छ । तर मिश्र र राणा भने फरार भएका छन् ।

कतिसम्म भने मिश्र र राणाले तीनकुने घटनाको सबै दोष दुर्गा प्रसाईमाथि थोपरेका छन् । प्रहरीलाई दिएको बयान हेर्ने हो भने मिश्र र राणा नेता हुन लायक व्यक्ति नै होइनन् । जबकि चैत १५ को प्रदर्शनको तयारीका बेला प्रसाई, राणा र मिश्र बैठकमै सहभागी भएका थिए । राणा त जनपरिचालन समितिको संयोजक पनि थिए ।

तर उनले प्रहरीसँग भनेका छन्, ‘मैले कोही–कसैलाई प्रोत्साहन गर्ने र निर्देशन दिनेसमेत गरेको छैन । संसद् भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनी अभिव्यक्ति दिने व्यक्ति म होइन, प्रतिवादी दुर्गा प्रसाईं हुन् । भिडियोमै देखिन्छ । संसद् भवनलगायतका संवेदनशील संरचना कब्जा गर्न भनी मैले कोही–कसैलाई खटाएको छैन ।

अन्यले खटायो वा खटाएन सो सम्बन्धमा मलाई थाहा छैन । संसद् भवनमा उक्त व्यक्तिलाई निगरानी गर्न भनी मैले पठाएको होइन, छैन ।’ मिश्रले पनि प्रसाईमाथि नै सबै दोष लगाएका छन् । उनले त राप्रपाको पार्टीगत संलग्नता नरहेको पनि जिकिर गरेका छन् । ‘मैले कोही–कसैलाई विमानस्थलस्थित हवाई इन्धन डिपो, भन्सार कार्यालय तथा प्रहरी ब्यारेकसमेतमा तोडफोड गर्न लगाएको अह्राएको छैन । सो सम्बन्धमा म अनभिज्ञ छु ।

म संसद् भवनतर्फ गएको पनि छैन । मैले कोही–कसैलाई संसद् भवन कब्जा गर्न जानू भनी प्रोत्साहन दिने अभिव्यक्ति दिएको पनि छैन । कार्यक्रमको आयोजक दुर्गा प्रसाईं हो । राष्ट्रिय प्रजातन्त्र पार्टी सो कार्यक्रमको आयोजक रहेको भन्ने ब्यानर उहाँहरूले पठाइदिन आग्रह गरेपछि सो ब्यानर पठाइएको हो,’ मिश्रले प्रहरीलाई भनेका छन् । मिश्र र राणाले प्रहरीलाई दिएको बयान सार्वजनिक भएपछि अहिले राप्रपाकै नेता कार्यकर्ताले उनीहरूको आलोचना गरेका छन् । यस्ता दोधारे चरित्रका नेताहरूबाट आन्दोलनले पार पाउन नसक्ने उनीहरूको भनाइ छ ।

Enter