काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको ठहर गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक राजीनामामा प्रवेश नगरेको बताए । ‘छानबिनको दायरामा गृहमन्त्री हुनुहुन्नु, उहाँमाथि उजुरी छैन । त्यसैले उहाँ दोषी भन्न मिल्दैन,’ उनले भने । महतले रवि लामिछानेको केससँग भिजिट भिसा प्रकरण जोड्न नहुने पनि बताए । ‘उहाँ (रवि लामिछाने) सँग जोड्न मिल्दैन ।
उहाँमाथि आरोप आयो, उजुरी आयो । त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ । यहाँ त न कुनै आरोप छ, न आधार छ । आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ उनले भने । गृहमन्त्री लेखकको निजी सचिवालयमा रहेका व्यक्ति र मन्त्रालयका कर्मचारी नै भिजिट भिसा प्रकरणमा मुछिएपछि नैतिकताका आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी आवाज उठेको छ ।
कांग्रेसमै पनि शेखर कोइराला र उनी निकट एक दुई नेताले गृहमन्त्री लेखकको राजीनामा मागेका छन् । तर संस्थापन पक्ष गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । कांग्रेसले बैठक नै बसेर आधिकारिक निर्णय सार्वजनिक गरेको हो ।
प्रतिक्रिया