काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला चीनको राजधानी बेइजिङमा छिन् । साताव्यापी भ्रमणमा रहेकी उनी जेठ १९ गते स्वदेश फर्किने छिन् । औपचारिक कार्यक्रमको सम्बोधन र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको भेटवार्तामा भण्डारी एमाले नेताका रूपमा प्रस्तुत भएकी छिन् ।
राष्ट्रपतिबाट बिदा भएपछि पहिलोपटक भण्डारीले अन्तर्राष्ट्रिय मञ्चबाट आफूलाई एमाले नेताका रूपमा चीनमा प्रस्तुत गरेकी हुन् । उनले ‘आफूलाई निमन्त्रणा गरेकोमा सिपिसीलाई एमाले र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु’ भनेर सम्बोधन थालेकी थिइन् । सोमबार सिपिसी अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई उनले एमाले नेताका रूपमा सम्बोधन गरिन् ।
सोमबार नै सिपिसी अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जियान्चाओसँगको भेटवार्तामा पनि पूर्वराष्ट्रपति भण्डारीको प्रस्तुति एमाले शीर्ष नेताका रूपमा थियो । चिनियाँ नेता लिउले पनि नेपालको राजनीतिक स्थिरताका लागि भण्डारीको अगुवाइमा वामपन्थी पार्टीहरूबिच सहकार्य र एकताका लागि प्रोत्साहित गरेका थिए । भण्डारीले वामपन्थी एकता र सहकार्यका लागि आफूले प्रयास गरिरहेको बताएकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले ‘आफूलाई निमन्त्रणा गरेकोमा सिपिसीलाई एमाले र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु’ भनेर सम्बोधन थालेकी थिइन् । सम्बोधनमा उनले पटकपटक एमाले र सिपिसीबिचको सम्बन्ध एवं सहकार्यबारे स्वर्गीय मदन भण्डारीदेखि अहिलेसम्मको चर्चा पनि गरिन् ।
उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाददेखि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अहिले गरेको समृद्ध नेपाल सुखी नेपालीको प्रसंग पनि उनले उल्लेख गरेकी थिइन् । उनले एमाले र सिपिसीबिच विचार, व्यवहार र रणनीतिक सम्बन्ध रहेको बताइन् । पूर्वराष्ट्रपतिको भन्दा एमाले नेताको रूपमा भण्डारीको सम्बोधन आएपछि चिनियाँ अधिकारीहरूले पनि चर्चा गरेका थिए । भण्डारीले बेइजिङबाट आफूलाई एमाले नेताका रूपमा प्रस्तुत गरेपछि नेपालमा सनसनी मच्चिएको छ ।
उनी कतै एमालेबाट सक्रिय राजनीतिमा फर्कन लागेकी त होइनन् भन्ने आशका उत्पन्न भएको छ । यद्यपि एमालेमा भने बहुसंख्यक नेता कार्यकर्ता भण्डारीलाई नेतृत्वमा देख्न चाहेका छन् । एमाले अध्यक्ष केपी ओली अझै पनि भण्डारीप्रति नरम नभएको नेता कार्यकर्ताको बुझाइ छ । सोही कारण जिल्ला जिल्लामा ओली र भण्डारी गुट फैलिँदै गएको बताइएको छ ।
प्रतिक्रिया