यस्तो प्रचार शैलीले ‘जन्ते बाख्रो’लाई होला त फाइदा ?



शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’को टिमले प्रचारमा नयाँ शैली अपनाएको छ । काठमाडौंको सिटी स्क्वायर मलको प्राङ्गणमा आयोजना भएको ‘जन्ते बाख्रो साँझ’मा कलाकारहरु दर्शकसँग झुमे ।

जेठको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले आयोजना गरेको कार्यक्रममा नायिका गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुशीस्थित बिजी मलबाट ‘जन्ते बाख्रो’ अंकित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा केही युवालाई प्रस्तुत गर्दै कार्यक्रम स्थलसम्म बिबाहको शैलीमा पञ्चे बाजासहित पुर्याइएको थियो ।

कार्यक्रममा बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतका गायक–गायिकाले फिल्मका हिट गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा फिल्मका मुख्य कलाकारहरु आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोस सुनुवार, लेखक प्रदीप भारद्धाज र निर्माता सन्तोष गौतमको उपस्थिती थियो ।

यो साँझ कार्यक्रमले दर्शकहरुलाई आकर्षित गर्ने र प्रचारमा पनि फाइदा पुग्ने विश्वास निर्देशक सिमोस सुनुवारको छ । नायक सौगात मल्ल भने नेपाल बाहिर रहेका कारण यो कार्यक्रममा सहभागी हुन पाएनन् ।

मुइन इन्टरटेन्मेन्टले निर्माण गरेको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन, हरि हुमागाँइको छायांकन निर्देशन, उत्तम हुमागाँइको छायांकन र सुनिल शिवभक्तीको सम्पादन छ ।