सार्वजनिक सवारी ठप्प भएपछि राइड सेयरिङको लखनौं लूट, मनपरी भाडा असुल्दै


काठमाडौं । यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीको भागमा खुदो पल्टिएको छ । सरकारले पास गरेको राइड सेयरिङ नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्किएपछि राइड सेयरिङ कम्पनीको भाग्य बलेको हो ।

सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले सोमबार बिहानैबाट दुई गुणा भाडा मोबाइल एपमा राख्न थालेका हुन्। विगतमा एक सय रुपैयाँ लिने ठाउँमा आज दुई सय राखेका छन् । तर त्यतिमा जाउँ भन्दा पनि राइडरहरू अफलाइनमा जाउँ न भन्दै बढी भाडा असुल्न लागेका छन् । तर ट्राफिक प्रहरीले अनुगमन गर्न सकेको छैन ।

थोरै संख्यामा चालक रहेको स्थानमा धेरै यात्रु सम्पर्कमा आउँदा स्वतः भाडा बढाउने गरेको छ। कार्यालय समय र रातका बेला सेवाग्राहीसँग थप शुल्क लिने गरेको कम्पनीले यस अगाडि नै स्वीकार गर्दै आएको थियो। आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभलगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गर्न थालेका हुन् ।

यातायात व्यवस्था विभागले राइड सेयरिङ कम्पनीहरुले विभिन्न शीर्षकमा खुलेआम ठगी गरिरहँदा पनि कारबाही भने गर्न सकेको छैन। गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषदबाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन्।

२०८१ असार १३ गते सर्वोच्च अदालतले राइड सेयरिङलाई मान्यता दिन सरकारलाई भनेको छ । तर सार्वजनिक यातायातको विकल्पमा आएका पठाओ, इन्ड्राइभ कम्पनीका राइडरका मनपरीले सीमा नाघेपछि सर्वसाधारण जनता बरु सरकारले कडाइ गरेर सार्वजनिक यातायात नै चलाउन सुझाव दिने गरेका छन् ।