काठमाडौं – हिन्दुवादी संघसंस्था र समूहको दबाबपछि चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब चलचित्रको नाम ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ रहने भएको छ ।
विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माण पक्षले जनाएको छ । भदौ ६ गते रिलिज हुने चलचित्रको नाम परिवर्तन गर्दै निर्माण पक्षले सोमबार मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् ।
रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आशीर्वाद दिएको जस्तो देखिएको छ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।
निर्माण पक्षले विजयलाई एउटा ट्याग दिएको छ । उनलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो । छायांकन सकिएको यो चलचित्र अहिले पोस्ट प्रोडक्सनका क्रममा छ । निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ ।
चलचित्रमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ । चलचित्रमा रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको पनि अभिनय छ । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको चलचित्र ‘जनै हराएको मान्छे’ भदौ ६ गते रिलिज हुने छ ।
प्रतिक्रिया