मुस्कुराउँदै फर्किइन् पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको डेढ साता लामो औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएकी छन् । वतर्मान मन्त्रीसहित १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो शनिबार राति उनी चीन गएकी थिइन् ।
भण्डारीको भ्रमण टोलीमा एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापालगायत छन् ।

चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग चिनियाँ उपराष्ट्रपति हान चेङले भेटवार्ता गरेका थिए । उनीसँग चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओले पनि भेटवार्ता गरे ।

काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ पुगेकी पूर्व राष्ट्रपति कान्सुबाट सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै काठमाडौं ओर्लिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा भण्डारीको मुहार हँसिलो देखिन्थ्यो ।

एमालेले भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा भएको स्पष्ट पारेको छ । तर भण्डारीले बेइजिङमा आफूलाई एमाले नेताका रूपमा उभ्याएकी थिइन् । तर चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटवार्तामा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।