काठमाडौँ – पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २३ वर्ष पूरा भएको छ । नारायणहिटी हत्याकाण्डको २४औँ स्मृति दिवस सोमबार मनाइँदै छ ।
२०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा आयोजित भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाह मारिएका थिए ।
अर्धबेहोस अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रलाई मृत घोषणा गरिएपछि ज्ञानेन्द्र शाहले आफूलाई राजा घोषणा गरेका थिए ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । ज्ञानेन्द्र प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२–६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेर राजसंस्था अन्त्य गरेका थिए ।
नारायणहिटी दरबार हत्याकाण्डको सात वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भएको थियो । ज्ञानेन्द्र नेपालको इतिहासमा अन्तिम राजा बने । अहिले उनै ज्ञानेन्द्र वा ज्ञानेन्द्रका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने मागसहित राजावादीहरुले आन्दोलन गर्दै आएका छन् । राजावादीहरूले दिनहुँजसो आन्दोलन चर्काइरहेका छन् । तर आमनेपाली जनतामा ज्ञानेन्द्र शाहप्रति त्यति धेरै भरोसा छैन । तर पनि एउटा समूह लागिरहेको छ ।
यस्तो अवस्थामा पूर्वयुवराज्ञी हिमानी शाहलाई २४ वर्षअघि नारायणहिटी दरबार हत्याकाण्डमा मारिएका राजपरिवारको याद आएको छ । सोमबार साँझ हिमानी अध्यक्ष रहेको हिमानी ट्रष्टले नारायणहिटी दरबार संग्रहालय परिसरमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ । तर प्रहरीले हिमानी ट्रष्टको स्थान छनोटलाई लिएर आपत्ति जनाएको छ ।
प्रतिक्रिया