‘म झोले हाे’ भन्ने ओलीको स्लोगानलाई भाइरल बनाउँदै एमाले, मोदीको फन्डा भन्दै आलोचना


काठमाडौैं – केही समययता आफूलाई स्वतन्त्र भन्ने नयाँ दल र तिनका नेता अनि नागरिक अगुवा भनाउँदाले दलका नेता कार्यकर्तालाई गाली गर्ने शब्द हो ‘झोले’ । ‘झोले’ भनेर गाली गरेपछि उनीहरू आफूलाई निकै ठूलो र बुद्धिजीवी ठान्ने गर्छन् । रास्वपाले त दलको सदस्यता भए पनि आफ्नो नेतालाई समर्थन गर्न भनेर आह्वान नै गरेका छन् ।

पछिल्लो समय राजावादीहरूले पनि दलका नेता कार्यकर्ता तथा समर्थकलाई ‘झोले’ भनेर आलोचना गरिरहेका हुन्छन् । सामाजिक सञ्जालमा मात्र होइन, मिडियामा समेत ‘झोले’ शब्दको बदनामी हुन थालेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले केही दिनअघि पार्टीको कार्यक्रममा आफूलाई ‘म झोले हाे’, मलाई ‘झोले भन्दा गर्व महसुस हुन्छ’ भनेर अभिव्यक्ति दिएका थिए । त्यही शब्दलाई सोमबार प्रधानमन्त्री ओलीले ‘म झोले हुँ’ भनेर सामाजिक सञ्जालमा स्लोगान राखेका छन् ।

‘म झोले हो।’ओलीले भनेका छन्,‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।’ तस्बिरसहितको ओलीको त्यो स्लोगानलाई अहिले एमालेका चर्चित युवा नेताहरूले भाइरल बनाउन थालेका छन् । जुनसुकै उमेर समूहका एमाले नेता कार्यकर्ताले त्यसलाई प्रचार गरिरहेका छन् ।

ओलीले यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फन्डा अपनाएको भन्दै आलोचना भइरहेको छ । भारतमा केही समयअघि मोदीको ‘मै चौकीदार हुँ’ भन्ने नारा सामाजिक सञ्जाल र मिडियामा भाइर बनेको थियो । अहिले मोदीको त्यही नारालाई ओलीले फन्डा बनाएको भन्दै उनको आलोचना हुन थालेको छ ।