सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घराज सोडारीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरूद्ध सोमबार गैरकानुनी सम्पत्ति आर्जनमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले एक करोड आठ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सोडारीविरुद्ध मुद्दा दायर गरेको हो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधारमन्त्री हुँदै मुख्यमन्त्री भएका सोडारी अकूत सम्पत्ति आर्जन गरेपछि भ्रष्टाचारमा डामिएका हुन्। उनी एकीकृत समाजवादीका नेता हुन्। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।

सोडारीकी पत्नी गीता सोडारी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भइसकेकी छिन्। विशेषले गीतालाई ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला गरेको थियो। श्रीमती भ्रष्टाचारी ठहर भएको एक वर्ष पुग्न लाग्दा पूर्वमुख्यमन्त्री सोडारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको हो। उनी सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्री हुन्।