काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका विपक्षी दलले जेठ २० देखिको बजेटमाथि छलफल हुन नदिने भएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बसेको बैठकले गृहमन्त्रीको राजीनामा नआएसम्म बजेटमाथिको छलफल हुन नदिने निर्णय पनि गरेको छ । दलको बैठकको निर्णयलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । माओवादी दलको कार्यालयमै प्रचण्ड र नेपालबीच मंगलबारदेखि हुने संसद् बैठकको तयारीबारे छलफल गरेका थिए । रास्वपाले त सुरुदेखि नै गृहमन्त्री लेखकको राजीनामा माग्दै आएको छ ।
सोमबार नै एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रचण्ड संसद् खुलाउन तयार नभएको भन्दै सम्पर्कमै आउन नचाहेको बताएका थिए । यद्यपि संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
छलफलमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, कांग्रेस नेता कृष्ण सिटौला लगायत सहभागी रहेका छन् । माओवादीले जेठ २१ गतेदेखि स्थगित मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान पुनः सुरु गर्दैछ । अभियान जेठ महिनाभित्रै सम्पन्न गर्ने भएकाले त्यसबेलासम्म माओवादीले संसद् बैठक अवरुद्ध नै गर्ने देखिएको छ । सोमबार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए । संवादका क्रममा भएका कुराकानी सार्वजनिक भएको छैन । स्रोतका देउवाले संसद् खुलाएर बजेट पारित गर्न सहयोग मागेका थिए ।
माओवादी दिनप्रतिदिन कठोर हुँदै जान थालेपछि प्रधानमन्त्री ओलीले लामो समयसम्म संसद् अवरोध गर्न नहुने भन्दै आफ्ना सांसदलाई तयार भएर बस्न निर्देशन दिएका छन् । उनले जसरी पनि संसद् चल्छ भन्नुले विपक्षीलाई पेलेरै सरकार संसद् बैठक चलाउने मनस्थितिमा पुगेको देखिन्छ । विपक्षी दलहरूले विरोध गरिरहने, सत्ता पक्षले बजेटमाथि छलफल गरेर बजेट पास गर्ने दिशातर्फ परिस्थिति निर्माण हुँदै गएको छ । किनकि एमाले र कांग्रेससँग बजेट पास गर्न आवश्यक सहज बहुमत छ । सभामुख देवराज घिमिरे पनि विपक्षी दलको अवरोधका कारण आजित भइसकेका छन् । धेरैले उनलाई मार्सल लगाएर भए पनि बजेट पास गर्न सुझाव दिइरहेका छन् ।
प्रतिक्रिया