७६ वर्षका मोदीको फिटनेस मन्त्र : नियमित योग, व्रत र शाकाहारी भोजन


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक भूमिकाभन्दा बाहिर उनको अनुशासित जीवनशैली र दैनिक दिनचर्याबारे पनि चर्चा हुने गरेको छ । नियमित योग, ध्यान, व्यायाम, संयमित खानपान र उपवास उनको दैनिकीका प्रमुख पक्ष मानिन्छन् ।

मोदीले विभिन्न अवसरमा आफ्नो दिन नियमित तालिकाबाट सुरु हुने बताउँदै आएका छन् । सन् २०१८ मा दिएको एक अन्तर्वार्तामा उनले बिहान योग गर्ने र त्यसपछि पत्रपत्रिका पढ्ने, इमेल हेर्ने तथा फोन सम्पर्क गर्ने गरेको बताएका थिए ।

उनका अनुसार योगले शरीर र मनलाई सक्रिय राख्न सहयोग गर्छ । लामो कार्यसमयका बीच पनि उनी आफ्नो दैनिक तालिकामा योग तथा व्यायामलाई निरन्तरता दिने गरेको बताउँछन् ।

मोदीको खानपान पनि सामान्य र संयमित रहेको बताइन्छ । उनी शाकाहारी भोजनमा जोड दिन्छन् र विभिन्न अवसरमा उपवास बस्ने गरेको सार्वजनिक रूपमा उल्लेख गरेका छन् । नियमितता, योग र सन्तुलित खानपानलाई उनले आफ्नो जीवनशैलीको महत्वपूर्ण हिस्सा बनाएका छन् ।