टंक बुढाथोकीलाई लिएर अशोक दर्जीको भावुक आग्रह– ‘उहाँ कर्म दिने बुवा हुनुहुन्छ’


काठमाडौं । संगीतकार टंक बुढाथोकीले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

अशोकले फेसबुकमार्फत बुढाथोकीको अभिव्यक्तिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रस्तुत गरिएको भन्दै यस विषयमा आफू र बुढाथोकी दुवैलाई गाली नगर्न आग्रह गरेका छन् ।

उनले बुढाथोकीलाई जन्म दिने बुवा नभए पनि आफूलाई कर्म दिने बुवाका रूपमा सम्मान गर्दै आएका बताएका छन् । आफ्ना सन्तानलाई केही भन्न बुवालाई छुट हुने भन्दै उनले बुढाथोकीले बोलेका विषयलाई लिएर उनलाई नराम्रो नबनाइदिन आग्रह गरेका छन् ।

अशोकले आफू अहिले चलचित्र ‘पार्वती’को प्रचार–प्रसारमा व्यस्त रहेको उल्लेख गर्दै उक्त विषयलाई लिएर आफूलाई विवादमा नतान्नसमेत आग्रह गरेका छन् ।