विपक्षीबाट राप्रपा बहिष्कृत, न दलले पत्याए, न राजावादीले


काठमाडौं – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा अहिले कठिन परिस्थितिबाट गुज्रिँदै छ । संसद् र सदन दुवै मोर्चाबाट आन्दोलन गरेर राजसंस्था ल्याउँछु भन्ने राप्रपा अहिले विपक्षी खेमाबाटै बहिष्कृत हुन पुगेको छ । राप्रपालाई अहिले न राजनीतिक दलले पत्याएका छन् न त राजावादीले नै ।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रिएको राप्रपालाई मंगलबार विपक्षी दलको बैठकमा बोलाइएन । राजसंस्थाको मागसहित आन्दोलनमा लागेको भन्दै गणतन्त्रवादी दलहरूले राप्रपालाई बाइकट गरेको हो । सडक आन्दोलनमा लागेको राप्रपाका सांसदहरूले सदनमा खासै प्रभाव देखाउन सकेका छैनन् । राजावादी आन्दोलनमा लागेकै कारण राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा बाहिर निस्कन सकेका छैनन् । मिश्र र राणा चैत १५ को तीनकुने घटनामा लामो समय न्यायिक हिरासतमा परेर छुटेका हुन् ।

राप्रपाले जसरी भए पनि राजसंस्था पुनःस्थापना हुने दाबी गर्दै आएको छ । तर सडकमा खासै भीड जम्मा गर्न सकेको छैन । हरेक दिनजसो राप्रपाले राजधानीका फरक फरक स्थानमा प्रदर्शन गरिरहेको छ । तर भिड भने घटिरहेको छ । नारायण चौरमा निषेधित क्षेत्र काटेर प्रदर्शन गर्न खोज्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे । उनले आफूमाथि प्रहरीले बुटैबुटले कुटेको दाबी गरेका छन् । हाल उनी आन्दोलनमा नगएर घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईबाट राजतन्त्रको बेडा पार नलाग्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूहरूलाई विश्वास गरिदिन अनुनय विनय गरेका थिए । प्रसाईमाथि अहिले पाँचवटा कसुरमा अनुसन्धान चलिरहेको छ । प्रसाई प्रहरी हिरासतमा पुगेपछि पूर्वराजा शाह बाध्य भएर लिङ्देन, थापा, नवराज सुवेदीलाई विश्वास गर्ने अवस्थामा आइपुगेका थिए । तर उनीहरूले पूर्वराजालाई हामीले यतिसम्म गरेका छौं भनेर दाबी गर्न सक्ने अवस्थामा आन्दोलन लान सकेका छैनन् । त्यसैले कतिपय राजावादी राप्रपाले राजसंस्था पुनःस्थापना गरिदेला भनेर सोच्नु मूर्खता हुने बताउन थालेका छन् ।