पुर्व सासंद डा- श्रेष्ठको पहलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सयबढी लाभान्वित।


पोखरा- हामी सबैको चाहना सभ्य, स्वस्थ र शालिन नेपालको परिकल्पना भन्ने मूल नाराका साथ स्थापित स्वस्थ नेपाली स्वतन्त्र नेपाल अभियानले आफ्नो कार्यको सुरूवातसँगै पोखरा वडा नम्बर १५ चोरसाँघुमा शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

शिविरमा पोखरा वडा नम्बर १५ र ७ का सेतीवारी र पारी गरि ४१६ जनाले स्वास्थ्य लाभ लिएका छन्। शिविरमा मेडिकल, सर्जिकल, हाडजोर्नी, स्त्री तथा प्रसुति, बालरोग, आँखा जाँच, रगत, सुगर तथा पिसाब जाँच, निशुल्क औषधी विवरण र दुर्व्यसनीहरुका लागि परामर्श सेवा समेत उपलब्ध गराईएको थियो।

अभियानका वरिष्ठ सल्लाहकार समाजसेवी सोभानाथ तिवारीले शिविरको उद्घाटन गर्दै गरिब नेपाली नागरिकको वास्तविक मर्म बुझ्ने कोही पनि नभएको आत्मवोध गरि आफु अभियानको हिस्सा बनेको बताए। कुनै पनि राजनीतिक दल तथा आस्थाप्रति झुकाव नराखी खबरदारी गर्दै विशुद्ध समाजसेवामा समर्पित अभियानले साच्चै नै मानवताको सवालमा विभेद रहित पुण्यको कार्य गर्ने कुरामा आफु विस्वस्त रहेको धारणा समेत व्यक्त गरे।

अभियानले देशैभरि राज्यले निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न गरिब तथा निमुखा नेपाली नागरिकलाई लक्षित गरि शिविरको आयोजना गरिएको अभियानका संयोजक डा. ढाका कुमार श्रेष्ठले जानकारी दिए। उनले यस्ता शिविर गण्डकी प्रदेश लगायत अन्य प्रदेशमा अभियानको विस्तारसँगै गर्दै जाने घोषणा समेत गरेका छन्। श्रेष्ठले नेपालमै विरामी जाँचेको शुल्क नलिने डाक्टरमा आफु एकमात्र रहेको दावी गर्दै स्वास्थ्यलाई राज्यस्तरबाटै निशुल्क बनाउने महान अभियानमा आफु र आफ्नाे अभियानका साथीहरू लागि परेकाले देशवासी सबै आमनागरिकलाई यस अभियानमा एकजुट हुन आग्रह पनि गरेका छन् ।

अभियानका संयोजक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहसंयोजक विष्णु प्रसाद तिवारी र सञ्चालन सचिव जीवन्धर चापागाईं र सदस्य सागर कार्कीले गरेका थिए।