माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध लामा हत्या मुद्दाको सुनुवाइ सुरु


काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित पूर्णिमाया लामाले १४ वर्षअघि सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदनउपर बुधबारबाट सुनुवाइ सुरू भएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको संवैधानिक इजलासमा यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। पछिल्लोपल्ट यसको सुनुवाइ गत फागुन २८ गते भएको थियो। १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा यो मुद्दाको पेसी सरेको सरै छ ।

गणतन्त्र आएदेखि नेपालमा माओवादी हरेक सरकारमा सहभागी हुने गरेको छ । पछिल्लो ११ महिनाबाहेक जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि माओवादी संलग्न रहँदै आएको छ । तीनपटक त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बने । एकपटक माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए । त्यसैगरी सापकोटा आफैं सभामुख निर्वाचित भए । सधैंजसो माओवादी सत्तामै रहेकाले पनि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ रोकिँदै आएको थियो । अर्जुन लामा हत्याको मुद्दा सुरुदेखि सुनुवाइ हुनुपर्ने भएकाले संवैधानिक इजलासमा पठाइएको हो । स्रोतका अनुसार अब भने यो मुद्दा निरन्तर सुनुवाइ भई फैसला आउने क्रममा छ । त्यसैले सापकोटाको राजनीतिक भविष्यमाथि खतराको घन्टी बज्न थालेको छ ।