काठमाडौं । राप्रपा सांसद बुद्धिमान तामाङले अंगरक्षक (पिएसओ) पठाउन सरकारसँग हारगुहार गरेका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्री रमेश लेखकसँग राप्रपा नेताहरूबाट खोसिएको पिएसओ पठाइदिन आग्रह गरेका हुन् ।
गृह मन्त्रालयले जेठ १३ गते राप्रपा संसदीय दलका सचेतक ज्ञानेन्द्र शाही, संसदीय समितिका सभापति दीपकबहादुर सिंह, पूर्वआइजीपीसमेत रहेका सांसद ध्रुबबहादुर प्रधानले पाउँदै आएको पिएसओ सुविधा फिर्ता लिएको थियो । त्यसबारे स्पष्ट पार्दै गृहमन्त्री लेखकले आन्दोलन रोकेपछि मात्रै पुनः पिएसओ खटाइने जानकारी गराएका हुन् ।
समिति बेठकमा राप्रपा सांसद तामाङले पिएसओ फिर्ता बोलाउनुको कारणबारे सोधेका थिए । गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा व्यवस्थापनको लागि पर्याप्त जनशक्ति खटाउनुपर्ने भएकाले फिर्ता बोलाइएको बताए । आन्दोलनमा सहभागी भएका बेला पनि पिएसओ खटाउँदा संयन्त्र परिचालनमा समस्या हुने गृहमन्त्रीको भनाइ थियो। ‘तपाईहरुले गर्ने आन्दोलनको लागि सुरक्षा बढी चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यताको पक्षबाट सुरक्षा दिन राखिएको हो’, उनले भने, ‘यदि ती आन्दोलन र घटना भएनन् भने उहाँहरूको सुरक्षा पुनः स्थापिन गरिन्छ ।’
राजावादीहरु भने आन्दोलन थप चर्काउने रणनीतिमा छन् । जेठ १५ गतेयता पाँच दिन लगातार प्रदर्शन गरेका उनीहरूले बुधबार दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन् । सरकारले काठमाडौँ उपत्यकाका अधिकांश ठाउँमा निषेधित क्षेत्र घोषणा गरेपछि आगामी आन्दोलनका कार्यक्रम तय गर्न दिउँसो २ बजे संयुक्त जनआन्दोलन समितिको बैठक बस्दैछ ।
प्रतिक्रिया