एभिन्युज टेलिभिजनलाई काठमाडौं जिल्ला अदालतको पाँच हजार जरिवाना


काठमाडौं – काठमाडौँ जिल्ला अदालतले एभिन्युज टेलिभिजनलाई चौधरी ग्रुपविरुद्ध तथ्यहीन र नियोजित रुपमा भ्रामक समाचार प्रसारण गरेको कसुरमा दोषी ठहर गरेको छ ।

न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले एभिन्युज टिभीले चौधरी ग्रुप तथा यसअन्तर्गत सञ्चालित विभिन्न कम्पनीमाथि कपोकल्पित समाचार प्रसारण गरी भ्रम फैलाउने कार्य गरेको भन्दै दोषी ठहर गरेको हो। अदालतले टिभीलाई पाँच हजार जरिवाना गर्ने फैसला पनि गरेको छ।

चौधरी ग्रुपको छवि खराब पार्ने नियतले एभिन्युज टेलिभिजनले विगत केही समयदेखि निरन्तर रुपमा समाचार सम्प्रेषण गर्दै आएको भन्दै ग्रुपले २०८१ जेठ ६ गते एभिन्युजविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

चौधरी ग्रुपले एभिन्युज टिभीले आफ्नो स्वार्थ पूरा नभएपछि बारम्बार ग्रुप र सम्बद्ध कम्पनीविरूद्ध अफवाह फैलाउने काम गरेकाले अदालत जानुपरेको जनाएको छ ।