फुट्यो राजावादी समूह, राजा फर्काउने आन्दोलन बुढापाकाबाट पार नलाग्ने भन्दै युवाहरूको विद्रोह


काठमाडौं – राजावादी समूहमा विभाजन आएको छ । राजा फर्काउने आन्दोलन बुढापाकाबाट पार नलाग्ने भन्दै राजावादी युवाहरू छुट्टै छलफलमा जुटेका छन् ।

बुधबार दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नआएर यही व्यवस्थाको संसदलाई महत्व दिएको भन्दै कार्यकर्ताले होहल्ला गरेका थिए । कार्यकर्ताले माइक खोसाखोससमेत गरेका थिए । त्यसपछि आन्दोलन नै घोषणा नगरी बैठक स्थगित भएको थियो । राजावादी युवाहरूले अब सशक्त आन्दोलन गर्ने भन्दै छुट्टै समूह बनाउने भएका छन् ।

संयुक्त जनआन्दोलन समितिको बैठक चलिरहेका बेला राप्रपा अध्यक्ष लिङ्देन प्रतिनिधिसभा बैठकमा थिए । लिङ्देनसहित राप्रपाका अधिकांश सांसद संसद् भवनमा थिए । केही सांसद संसदीय समितिको बैठकमा सहभागी भएका थिए । केही भने राप्रपा नेताको पिएसओ फर्काउन माग गर्दै सभामुख देवराज घिमिरेकहाँ डेलिगेसनमा पुगेका थिए । उनीहरूले संसदमै राप्रपामाथि विभेद गरेको गुनासो गरेका थिए ।

दिनप्रतिदिन राजावादीको आन्दोलन शिथिल हुन थालेपछि राप्रपालाई राजसंस्था भारी बनेको छ । सोही कारण राजेन्द्र लिङ्देनसहितका नेता संयुक्त जनआन्दोलन समितिको बैठकमा सहभागी नभएका हुन् । राप्रपाबाट राजसंस्थाको आन्दोलन पार लाग्ला भन्ने कसैले पनि पत्याएका थिएनन् । त्यसमाथि ८६ वर्षीय वृद्ध नवराज सुवेदीलाई संयोजक तोकिएपछि चाँडै राजावादी आन्दोलन तुहिने सबैले अनुमान गरेका थिए । नभन्दै बुधबारदेखि राजावादी समूहमा विद्रोह देखापरेको छ ।