फेसबुकमा मुख छाड्नेहरू पारिवारिक तनावमा हुन्छन् : प्रधानमन्त्री ओली — गाली होइन, सकारात्मक सोच र उद्यमशीलतामा लागौं


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने प्रवृत्ति पारिवारिक तनावको परिणाम भएको बताउँदै युवाहरूलाई तनावमुक्त भइ सकारात्मक सोच अपनाउन सुझाव दिएका छन्।

काठमाडौंमा आयोजित ‘आईडिया स्टुडियो’को नवप्रवर्तक युवासँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई परिवर्तनको लागि सक्रिय भइ काम गर्न प्रेरित गरे। उनले असन्तुष्ट भएर सामाजिक सञ्जालमा अरूलाई गाली गर्नु र नकारात्मक सोचले मात्रै अघि बढ्नु कसैका लागि फाइदाजनक नहुने स्पष्ट पारे।

‘सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्नु उनीहरूको बानी हो, जुन तनावपूर्ण पारिवारिक अवस्थाको संकेत हो,’ प्रधानमन्त्री ओलीले भने। ‘त्यसरी गाली गरेर हिँड्ने बानीले व्यक्ति, परिवार र समाज कसैलाई पनि राम्रो गर्दैन।’

युवाहरूलाई कामप्रति गर्व गर्न तर घमण्ड नगर्न आग्रह गर्दै उनले भने, ‘केही गरेपछि त्यसको मूल्य हो, तर घमण्ड होइन। उद्यमशीलता विकास नै रोजगारी समस्याको दीर्घकालीन समाधान हो।’