‘जनै हराएको मान्छे’को मार्मिक गीत ‘आमा’ रिलिज



फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को पहिलो मार्मिक गीत सार्वजनिक गरिएको छ । ‘आमा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर छ । गीतमा मनिषा सुनारको पनि स्वर सुन्न सकिन्छ ।

यो गीतले फिल्मको भाव बोकेको छ । फिल्मका मुख्य कलाकारले घर छोडेर शहर पसेको, शहरमा दुख पाएको र आमाको संझना गरेको भावलाई गीतमा समावेश गरिएको छ ।

आमालाई सुख दिने सोचका साथ शहर पसेको एक छोराले शहरमा विभिन्न दुख झेलेपछि गाउँ नै फर्किने सोच पालेको कथा यो गीतमा समावेश छ ।

यो गीतले छोराको खुशी पर्खिरहेकी आमाको मनको भावना बोल्ने निर्माणपक्षको तर्क छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, कविता आलेलाई देख्न सकिन्छ ।

भदौको ६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको हाल पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । पेपरक्लिपको व्यानरमा निर्माण भएको यो फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ ।

आरके मानन्धर, रुपेश लामा, सीआर बस्नेत, नारायण तिमिसिना र चुडामणी सिवाकोटी सह–निर्माता रहेको फिल्ममा थानेश्वर गौतम, एसडी योगी, प्रशान्त सिवाकोटी, अर्जुन पोखरेलको संगीत, नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमाटोग्राफी, भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद छ ।

हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् ।