नायक पल शाहको केन्द्रिय भूमिका रहेको फिल्म ‘मोहर’ चर्चामा छ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक नयाँ पोष्टरले दर्शकहरुलाई कौतुहलता जगाउने देखिन्छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको नयाँ पोस्टरले नायक पल शाहको दोहोरो भूमिका हो कि भन्ने कौतुहलता जगाएको छ ।
पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । यता, उनी छोटो कपालको साथमा नायिका नीति शाहको अंगालोमा बाँधिएको देख्न सकिन्छ ।
फिल्म ‘मोहर’लाई ‘अलिखित नियमहरुमा आधारित कथा’ भनिएको छ । यो फिल्मको टिजर जेठको २७ गते सार्वजनिक हुँदैछ । टिजर सार्वजनिक हुनु अगाडि दर्शकमाझ आएको पोष्टरले टिजरप्रतिको प्रतिक्षा अझै बढाउने देखिन्छ ।
चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो फिल्ममा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ ।
दिपेन बस्न्यातको छायांकन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रुपमा छन् ।
प्रतिक्रिया