काठमाडौं । प्रहरीले फरार घोषित गर्ने चेतावनीपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा अदालतमा आत्मसमर्पण गर्ने भएका छन् । प्रहरी हिरासतबाट जमानीमा रिहा भए पनि मिश्र र राणा अहिलेसम्म सम्पर्कमै आएका छैनन् । प्रहरीले चैत १५ को तीनकुने हत्या प्रकरणमा ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।
जसमा मिश्र र राणाको नाम पनि समावेश छ । तीनकुने काण्डका अन्य प्रतिवादीसँग अदालतमा बयान भइरहँदा मिश्र र राणा भने अर्धभूमिगत अवस्थामा छन् । घर र पार्टीको मिटिङमा उपस्थित हुने तर प्रहरीको सम्पर्कमा नआउने भएपछि दुवैलाई फरार अभियुक्त घोषणा गर्न लागिएको हो । आफूहरूलाई फरार अभियुक्त घोषणा गर्न लागिएको सूचना पाएपछि मिश्र र राणा दुवैले आफूहरू सिधै अदालतमा उपस्थित हुने निकटस्थहरूलाई बताउन थालेका छन् ।
मिश्र र राणालाई बोलाउँदा पनि प्रहरीको सम्पर्कमा नआएपछि प्रहरीले हिरासतबाट रिहा हुनुअघि उपस्थितिको ग्यारेन्टी गरेका वकिलद्वय श्यामबहादुर शाही र बसन्त ब्लोनलाई २५–२५ हजार रुपैयाँ जरिवाना गरेको छ । तीनकुने प्रकरणमा मिश्र र राणामाथि देशद्रोह, आपराधिक दुष्कर्म र संगठित अपराधको आरोप लगाइएको थियो। सो घटनामा एक पत्रकारसहित दुईजनाले ज्यान गुमाएका थिए ।
यस्तै, करोडौंको सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको थियो । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त आन्दोलन समितिले आयोजना गरेको प्रदर्शनमा मिश्र समितिका सदस्य सचिव थिए, राणा आन्दोलन परिचालन समितिका संयोजक र दुर्गा प्रसाईलाई फिल्ड कमाण्डर तोकिएको थियो।
प्रतिक्रिया