पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्री ओलीका मेयर पनि मुछिए


काठमाडौं । बहुचर्चित पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापालाई पनि प्रतिवादी बनाइएको छ ।

प्रधानमन्त्री केपी ओली हाल बसिरहेको बालकोट सूर्यविनायक नगरपालिकामा पर्छ । मेयर थापा गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । हदबन्दी छुट जग्गा गैरकानुनी रुपमा पतञ्जलिले किनबेच गरेकामा त्यसपछि थापाले पनि जग्गा किनेका थिए । हाल जग्गाधनी रहेका थापाले आफूले साविक साँगा गाविस वडा नम्बर ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग एक करोड ३० लाख ६६ हजारमा खरिद गरेको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष दिएका छन् ।

‘जग्गाधनी श्रेस्ताहरुमा उल्लेखित नाम बासुदेव थापा म नै हो। दोलखा जिल्ला जुगुं बस्ने हाल सूर्यविनायक नगरपालिका–८ बस्ने डिल्लीध्वज बराइलीसँग एक करोड ३० लाख ६६ हजारमा १० महिना अगाडि खरिद गरेको हँु, हाल प्रयोगमा छैन, कसैलाई बिक्री वितरण पनि गरेको छैन,’ २०८१ कात्तिकमा थापाले अख्तियारमा दिएको बयानमा उल्लेख छ । मेयर थापा पनि पतञ्जली जग्गा प्रकरणमा मुछिएपछि भक्तपुर एमालेमा खैलाबैला मच्चिएको छ ।

‘डिल्लीध्वज बराईली चिनजानको साथी हुन्। निजले के कुन विधि र प्रक्रियाबाट आफ्नो नाममा कायम गरेको भन्ने मलाई थाहा छैन। मैले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पुर्‍याई खरिद गरेको हो। जग्गाको हदबन्दी, मन्त्रिपरिषदको निर्णय कुनै जानकारी छैन’ थापाले बयानमा भनेका छन् । जग्गा जफत प्रयोजनका लागि मेयर थापासहित २८ व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाइएको छ ।