काठमाडौं । विश्वकै लामो मानिएको ‘मुक्तिनाथ केबुलकार’ ५७ अर्ब ६४ करोडमा बन्ने भएको छ । बिहीबार सम्पन्न लगानी बोर्डको ६४औँ बैठकले परियोजनाको लगानी स्वीकृत गरेको हो । परियोजना विकास सम्झौता (पिडिए) गर्न बिहीबारकै बैठकले कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । सरकारले १५ जेठमा ल्याएको आगामी आवको बजेटमा पनि यो परियोजना निर्माणमा सहजीकरण गर्ने उल्लेख छ ।
मुक्तिनाथ केबुलकार कम्पनीले कात्तिकभित्रै परियोजना निर्माणको शिलान्यास गर्ने लक्ष्य राखेको अध्यक्ष अरुणकुमार सुवेदीले बताएका छन् । ‘पिडिए भएपछि वित्तीय व्यवस्थापनको प्रक्रिया अघि बढ्छ । अहिले नेपाली बैंकिङ क्षेत्रमा उच्च तरलतासँगै ब्याजदर पनि सस्तो छ । तसर्थ, हामीले स्वदेशी बैंकहरूबाट ऋण लिने योजना बनाएका छौँ,’ उनले भने, ‘आगामी दसैँ–तिहारताका परियोजनाको शिलान्यास गर्ने लक्ष्य छ ।
अन्य प्रक्रिया पनि सँगसँगै अघि बढ्ने छ ।’ निर्माण सुरु भएको चार वर्षमा परियोजना तयार गर्ने लक्ष्य लिएको उनले बताए । कम्पनीले यसअघि भारतको के एन्ड आर इन्जिनियरिङ कम्पनीले इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्र्याक्ट र लगानी (इपिसिएफ) मोडेलमा यस आयोजनामा ऋण लगानी गर्ने गरी समझदारी गरेको थियो ।
तर, उक्त समझदारीको म्याद सकिसकेको छ । ‘यस्तो अवस्थामा सुरुदेखि नै प्रक्रिया अघि बढाउनुपर्छ,’ अध्यक्ष सुवेदीले भने, ‘नेपालकै बैंकहरूमा सस्तोमा कर्जा पाइन्छ । तसर्थ, स्वदेशी बैंकबाट कर्जा लिने योजना बनाएका छौं ।’ यद्यपि, परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अझै वन तथा वातावरण मन्त्रालयमा विचाराधीन छ कम्पनीले गत पुस ०८० मै लगानी बोर्डमा परियोजनको डिपिआर पेस गरेको थियो ।
त्यो पनि बोर्डबाट स्वीकृत हुन बाँकी छ । बोर्डका प्रवक्ता उपाध्यायले डिपिआर मूल्यांकनकै क्रममा रहेको बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत हुन बाँकी छ । वन मन्त्रालयबाट त्यो स्वीकृत भएर आएपछि डिपिआर पनि स्वीकृत गरिहाल्छौँ,’ उनले भने । परियोजनामा ८० प्रतिशत लगानी ऋणमार्फत जुटाइँदै छ । बाँकी २० प्रतिशत भने स्वपुँजी हुने छ ।
प्रतिक्रिया