काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले तनाव सिर्जना भएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले संगठनलाई मागीखाने भाँडो बनाएको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएपछि तनावको स्थिति सिर्जना भएको हो । राजधानीमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरू पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन सानेपामा पुगेका थिए ।
तर सुरक्षाकर्मीले उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि अहिले तरुण दलका नेता कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् । उनीहरू धर्नामा बसेका छन् । तरुण दलका नेता कार्यकर्ता विरोधमा उत्रिँदा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा भने अहिले राजधानी बाहिर छन् । देउवा जनकपुर र थापा धरान पुगेका छन् ।
तरुण दलका केन्द्रीय सदस्य रोजन राईले अध्यक्ष गुरुङले संगठनको अधिवेशन गराउन नसक्ने निष्कर्षसहित आफूहरू विरोधमा निस्कन बाध्य भएको बताए । ‘महाधिवेशन गर्ने उहाँले अझै कुनै क्रियाकलाप अघि बढाउनुभएको छैन । केन्द्रीय सदस्यहरूसँग कुनै छलफल नै नगरी तरुण दललाई प्रालिको रूपमा अगाडि बढाउने प्रयास गरियो ।
त्यसैले हामीले विरोधमा उत्रिएका हौँ,’ उनले भने । गत चैतमा पार्टीले दिएको वैधानिक समय सकिएको भन्दै आफूहरू अहिले अवैध केन्द्रीय सदस्य बन्नु परेको बताए । ‘उहाँले अधिवेशन गराउनेतिर नसोच्ने र एकलौटी ढंगले अगाडि बगाउन खोज्दै हुनुहुन्छ । बहुमत केन्द्रीय कमिटीसँग परामर्शपछि उहाँबाट अब अधिवेशन हुन नसक्ने निष्कर्षमा हामी पुगिसकेका छौँ,’ उनले भने ।
‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो । कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो,’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया