काठमाडौं । विपक्षी दलको नेताहरूसँगको बैठक सकिएलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका नेताहरूबीच छलफल सुरु भएको छ ।
कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र श्याम घिमिरे प्रचण्डलाई भेट्न गएका हुन् । संसद् भवनस्थित प्रचण्डको कार्यकक्षमा उनीहरूबीच सदनको गतिरोध हटाउने विषयमा छलफल भइरहेको छ ।
दुई सातासम्म पनि संसद् खुल्न नसकेपछि कांग्रेस उपसभापति खड्काले आफैं अग्रसरता लिएका हुन् । उनले बिहीबार माओवादी, रास्वपा, एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए ।
केही समयअघि बसेको विपक्षी दलको बैठकले भिजिट भिसा ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने निर्णय गरेको थियो ।
बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता सत्ता पक्षले गर्नुपर्ने निष्कर्ष निकालेको हो । छानबिन समिति सुनिश्चितताको बटमलाइनसहित सत्ता पक्षसँग सम्वाद गर्ने जिम्मा प्रमुख सचेतकलाई दिइएको छ । माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई सत्ता पक्षसँग सम्वाद गर्ने जिम्मा दिइएको छ । बैठक सकिएलगत्तै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहमन्त्री रमेश लेखकलाई फोन गरी संसदमा बोल्न दिन सकारात्मक भएको जानकारी गराएका थिए ।
प्रतिक्रिया