काठमाडौं । निजामती कर्मचारी विधेयक माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरुले आइतबारदेखि कालोपट्टी बाँधेर काम गर्ने भएका छन् ।
निजामती कर्मचारी विधेयकमा उल्लेखित कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आजदेखि देशव्यापी रुपमा कालोपट्टी बाँधेर काम गर्ने निर्णय गरेका हुन् ।
निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूले राज्यका तीनै तहका सम्पूर्ण कार्यालयमा कालोपट्टी बाँधेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । उनीहरुले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलन गर्दै आएको जनाएका छन् । कर्मचारीहरुले शुक्रबारसम्म सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र धर्ना दिँदै आएका थिए । नयाँ विधेयकप्रति सचिवहरुले पनि असन्तुष्टि राख्दै आएका छन् ।
विपक्षी दलहरुका कारण संसद बैठक सुचारु हुन सकेको छैन । जसकारण निजामती विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक प्रतिनिधिसभासमक्ष प्रस्तुत हुन सकेको छैन । समितिका सभापति रामहरि खतिवडाले यसै संसद् अधिवेशनमा निजामती विधेयक पारित हुने बताए पनि विपक्षी दलको अवरोधका कारण दलहरूबीच सहमति जुट्न सकेको छैन । खासगरी कुलिङ पिरियडले निजामती कर्मचारीमा हलचल मच्चाएको छ ।
कर्मचारीहरूको मागमा सेवा अवधिका आधारमा एक तह वृद्धिको समयसीमा सात वर्षबाट घटाएर पाँच वर्ष कायम गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटक समायोजन छनोटको अवसर दिनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने र तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्नेलगायतका बुँदा समावेश छन्।
प्रतिक्रिया