काठमाडौं । अब लिंग परिवर्तनका लागि विदेश जाने झन्झट हटेको छ । शिक्षण अस्पतालमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अंगको पुनःनिर्माण गरिएको हो ।
अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो । अस्पतालका प्रवक्ता तथा सह प्रा.डा. गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए ।

‘लिंग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ,’ उनले भने ।
शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा.एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता थियो । केही समयअघि चर्चित कलाकार सन्तोष पन्तका छोराले बैंकक गएर लिंग परिवर्तन गरेका थिए ।
प्रतिक्रिया