राजावादी आन्दोलन सुस्ताएपछि पूर्वराजा शाह झापाबाट फर्के


काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित सुरु भएको राजावादीको अनिश्चितकालीन आन्दोलन तुहिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दमकबाट फर्किएका छन् । राजावादी आन्दोलन चलिरहँदा दमक पुगेका उनी आइतबार दिउँसो जहाजबाट काठमाडौं आएका हुन् ।

राजसंस्था पुनः स्थापनाका लागि जेठ १५ देखिको आन्दोलन सुरू हुनु केही दिनअघि ज्ञानेन्द्र कोमल, भतिजी शिताष्मासहित दमक पुगेका थिए । पूर्वराजा शाह झापा गए पनि पूर्वयुवराज्ञी हिमानी शाह, हृदयेन्द्र शाह काठमाडौंमै थिए । उनीहरूले जेठ १९ गते कमलादीमा पूर्वराजपरिवारको सम्झनामा दिप प्रज्ज्वलन गरेका थिए ।

हिमानी शुक्रबार छोरा हृदयेन्द्रलाई लिएर जुम्ला पुगेकी थिइन् । उनी बर्थिङ सेन्टर उदघाटन गर्न त्यहाँ पुगेकी थिइन् । एक साता नबित्दै राजावादी आन्दोलनले घुँडा टेकेपछि पूर्वराजा शाह चिन्तित बनेका छन् ।

झापा जानुअघि उनले होटल सोल्टीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, केशरबहादुर विष्ट र नवराज सुवेदीसँग आन्दोलनबारे घनीभूत छलफल गरेका थिए । तर सोचेजस्तो राजावादीको आन्दोलन अघि बढेन । अहिले बुढा नेताहरूलाई पाखा लगाएर युवा जमात आन्दोलनको तयारीमा जुटेको छ ।