करोडौ कमाउने सपना बोकेर अमेरिका पुगेका नेपाली, बोरा बोकेर नेपाल फर्किए


काठमाडौँ । आइतबारको त्यो मध्यरात, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट जब उनीहरू निस्किए, उनीहरूको हातमा थियो-सपना होइन, बोरा। अमेरिकाको चम्किलो सपनाले तानेका थिए उनीहरूलाई-३७ जना नेपालीहरू, जसले भविष्यको उज्यालो खोज्दै हजारौं माइल पार गरेका थिए। कतिपयका बोरा थिए, कतिपयको हात रित्तो।

तर सबैका आँखा खाली थिए। हिजो जसले अमेरिकाको आकाशमा आफ्ना आशा उडाएका थिए, आज उनीहरू अमेरिकी अध्यागमनको कठोर छानबिनपछि डिपोर्ट भएर आफ्नै माटोमा फर्किए। चार्टर्ड विमानमार्फत् ल्याइएका ती नेपालीलाई अमेरिकाले गैरकानुनी बसोबास र अध्यागमन नियम उल्लंघन गरेको आरोपमा देश निकाला गर्‍यो।

अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु कोही बोरा बोकेर त कोही रित्तो हात फर्किएका छन् । आइतबार मध्यराति ३७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा यस्तो दृश्य देखियो ।

अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरु गएराति काठमाडौं फर्किएका थिए । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो । अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली गएराति फर्किएका छन् ।

उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतले जनायो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ ।