‘एक्लो’मा सुनिलको गज्जबको लुक्स



फिल्म ‘एक्लो’का कलाकारहरुको लुक्स एकपछि अर्को रुपमा सार्वजनिक हुँदै गर्दा दर्शकहरुमा उत्साह अझै बढ्न थालेको छ ।

फिल्मका मुख्य कलाकार सुनिल थापाको पोष्टर गज्जब बनेको छ । सुनिललाई फिल्ममा ‘किङ्ग यामा’को भूमिकामा देख्न सकिन्छ । यस्तै, निर्माणपक्षले एवनराज उप्रेतीको पोष्टर पनि सार्वजनिक गरेको छ ।

यसअघि फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोष्टर सार्वजनिक भइसकेको छ ।

प्रदीप शाहीको निर्देशनमा तयार भएको यो फिल्मलाई हलिउडस्तरको बनाउन अहिले निर्माणपक्ष लागिपरेको छ ।

हाल फिल्मको लण्डनमा पोष्ट प्रोडक्सनको कार्य भइरहेको छ । केही हप्ता अगाडि मात्र फिल्मको टिमले कान्स फिल्म फेस्टिभलमा स्टल राखेर मार्केटिङ गरेको थियो ।

फिल्ममा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुनको लगानी छ भने विनोद सुवेदी कार्यकारी निर्माता हुन् । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।

तर, विशेष श्रोतका अनुसारलाई फिल्मलाई तिहारमा ल्याउने तयारी यसको निर्माणपक्षले गरेको छ ।