बेलायतको राजधानी लण्डनमा रहेको ग्रिनफोर्ड हलमा सेप्टेम्बर १३ तारिखमा आयोजना हुन लागेको ‘दोस्रो अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२५’मा नायिका शर्मिला मल्ललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिने भएको छ ।
आज आयोजना भएको पत्रकार सम्मेलनमा आयोजकले यो घोषणा गरेको हो । कार्यक्रममा अवार्डको नोमिनेशनमा पर्न सफल फिल्मीकर्मीहरुलाई प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा फिल्मीकर्मीहरुको बाक्लो उपस्थिती थियो ।
१७ विधामा प्रदान गर्न लागिएको अवार्डलाई इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको प्रस्तुतिमा आयोजना गर्न लागिएको हो ।
गतवर्षको सेप्टेम्बरमा यूकेमा नै आयोजना भएको यो अवार्ड भव्यरुपमा सम्पन्न भएको थियो । दोस्रो संस्करणसम्म आइपुग्दा अवार्डप्रति फिल्मीकर्मीहरुको विश्वास अझै बढेको देखिएको छ ।
नेपाली फिल्म क्षेत्रको श्रीवृद्धी तथा अन्तरराष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण सावित भएको यो अवार्डको मनोनयन भने केही दिन अगाडि नै सार्वजनिक भएको थियो ।
यो अवार्डको जुरी संयोजकमा गौरी मल्ल, सदस्यमा रमेश वुढाथोकी र करुण थापा छन् । सन् २०२४ को जुन २८ अर्थात असार १४ गतेबाट रिलिजमा आएका फिल्महरु मध्येबाट जुरीहरुले उत्कृष्ट पाँचको मनोनयन छनोट गरेका थिए ।
कार्यक्रममा पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाइस अवार्ड गरि कुल २६ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड संयोजक मनिष कार्कीले फिल्म क्षेत्रका चर्चित फिल्मीकर्मीहरुको उपस्थितीमा लण्डनमा भव्य रुपमा अवार्ड सम्पन्न हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमा दिए ।
अवार्डको युके कमिटिमा उमेश मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिष पन्त छन् । यस्तै, नेपाल तर्फबाट भने सुनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा र मनिष कार्की छन् ।
आज आयोजना भएको प्रमाणपत्र वितरण कार्यक्रममा कलाकार निर शाह, कृष्ण मल्ल, शर्मिला मल्ल, निर्देशक दीपाश्री निरौला, कृषा चौलागाई, नायक पुष्प खड्का, नायिकाहरु वर्षा सिवाकोटी, नीता ढुंगाना, कलाकार जितु नेपाल, प्रमोद अग्रहरि, सुमन भण्डारी नव–नायक विवेक कर्माचार्य, छायांकार पुरुषोत्तम प्रधान, मोडलहरु उषा उप्रेती, एलिसा शर्मा, निर्माता प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थिती थियो ।
कलाकारहरुले यो अवार्डले अन्तरराष्ट्रिय स्तरमा नेपाली फिल्मको विकासमा ठूलो भूमिका खेलेको बताए । कार्यक्रममा अवार्डको यूके आयोजक टिमको भिडियो समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया