नेपाल बैंकबाट २० अर्ब रुपैयाँ हरायो: खोजी र कारवाहीका लागि शेयरधनीको हारगुहार


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै व्यावसायिक ऋण प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दायर गरेको बेला, नेपाल बैंक लिमिटेडमा २० अर्ब ४० करोड रुपैयाँ हराएको भन्दै अर्को गम्भीर उजुरी दर्ता भएको छ।

शेयरधनी अंगराज भारतीले महालेखा परीक्षकको कार्यालयमा दर्ता गराएको उजुरीमा, साना तथा मझौला उद्योग कर्जा शिर्षकमा २०७४ सालको अन्तिम त्रैमास र २०७५ सालको पहिलो त्रैमासमा स्वीकृत ऋणको रकम बैंकको प्रणालीमै हराएको दाबी गरिएको छ।

सो उजुरीमा बैंकले उपलब्ध गराएका विवरणको अध्ययन गर्दा करिब २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गलत ऋणी देखाएर अपचलन गरिएको आशंका व्यक्त गरिएको छ। उजुरीमा भनिएको छ, “वास्तविक ऋणीको विवरण नखुलाइ गलत विवरण देखाएर रकम गायब पारिएको छ, र त्यसको लागि तत्कालीन सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत र व्यापारीहरूको मिलेमत्तो हुनसक्छ।”