देउवापुत्र जयवीरको उजुरीपछि सञ्चारकर्मी पाठकविरुद्ध पक्राउ पुर्जी


काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको उजुरीपछि सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको हो ।

नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको ब्युरोका अधिकृतहरू बताउँछन् । होटल शंकर ग्रुपको स्वामित्वमा छ । होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उनले होटल खरिद गरेको पाठकले समाचारमा आरोप लगाएका थिए । तर हिल्टन होटलले जयवीरले होटेल नकिनेको भनेर विज्ञप्ति नै जारी गरेको थियो ।

जयवीरले यसअघि आफ्ना बुवा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याड आयात गर्दा कर छुट हुनेगरी करको दर हेरफेर गरेको पनि पाठकले आफ्नो समाचार सामग्रीमा उल्लेख गरेका छन् । १७ तले सो होटलको नक्सापास विवादको बिचमा देउवा परिवार सो होटलसँग जोडिएको समाचारमा दाबी गरिएको छ ।

समाचारका कारण आफ्नो व्यक्तिगत र पारिवारिक चरित्रहत्या भएको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीकै अनुरोधमा सञ्चारकर्मी पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

अदालतले सञ्चारकर्मी पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अहिले सो घटनाको पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले विरोध गरेका छन् । अधिकांंश पत्रकारहरूले सामाजिक सञ्जाल र मिडियामार्फत यो घटनाको निन्दा गरेका छन् ।