प्रतिनिधिसभा बैठक छिट्टै खुल्ने, गृहमन्त्रीको राजीनामा कुनै हालतमा नआउने : सरकारका प्रवक्ता गुरूङ


सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अवरुद्ध प्रतिनिधिसभा बैठक छिट्टै सञ्चालनमा आउने बताएका छन्। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संसद खुलाउने प्रयास अन्तिम चरणमा पुगेको जानकारी दिए।

गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसहित संसद अवरुद्ध गर्दै आएका प्रतिपक्ष दलहरूसँग सत्तापक्षको छलफल जारी रहेको उनले बताए। “आजै संसद खुल्न सक्ने सम्भावना छ,” मन्त्री गुरूङले भने, “गृहमन्त्रीको राजीनामाको विषय नै उठ्दैन। संसदीय छानबिन कसरी गर्ने भन्नेबारे अहिले छलफल भइरहेको छ।”

भिजिट भिसा प्रकरणमा अख्तियारले गृह मन्त्रालयका एक कर्मचारीमाथि छानबिन थालेको भन्दै मन्त्री गुरूङले एउटा कर्मचारीमाथि छानबिन भएकै आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था नआएको बताए।

“छानबिनका कारण मन्त्रीले राजीनामा दिनु पर्ने हो भने सरकारै चल्दैन,” उनले स्पष्ट पारे, “सानोतिनो विषय उठाएर अवरोध गर्ने हो भने राजनीति अघि बढ्न सक्दैन।”

उनले संसद सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षबीच सहमति आवश्यक रहेको र बजेटसम्बन्धी छलफल अघि बढाउन संसद चलाउनुपर्नेमा जोड दिए।